KATHMANDU, Nepal — १३ वर्षदेखि राजनीतिक र वित्तीय अन्योलतामा रुमल्लिएको उक्त आयोजना अब स्वदेशी लगानीमा निर्माण गर्ने र कम्पनी मोडललाई विकास प्राधिकरणमा रूपान्तरण गर्ने सरकारको तयारी छ।
गोरखा र धादिङको सीमामा निर्माण हुने आयोजनाका लागि गत बुधबार सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमाथि निर्माण हुने स्थायी पक्की पुलको शिलान्यास गरेका छन्। सरकारले यसलाई आयोजना निर्माणको प्रारम्भिक चरणका रूपमा व्याख्या गरेको छ।
आयोजनालाई बहुउद्देश्यीय विकास प्राधिकरणमार्फत अघि बढाउन विशेष ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको सभामुख अर्यालले बताए। आगामी संसद् अधिवेशन सुरु भएको दुई साताभित्र विधेयक सदनमा पेस गर्ने सरकारको लक्ष्य छ। प्राधिकरण बनेपछि विद्युत् उत्पादनसँगै पर्यटन, मत्स्यपालन, कृषि, सिँचाइ, व्यवस्थित बस्ती र पूर्वाधार विकासका कामसमेत अघि बढाइनेछ।
आयोजना निर्माणका लागि करिब साढे ४ खर्बदेखि ५ खर्ब रुपैयाँसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। सरकारले विदेशी लगानीमा निर्भर नभई स्वदेशी पुँजी परिचालन गर्ने योजना बनाएको छ। प्रस्तावित वित्तीय खाकाअनुसार कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने लक्ष्य राखिएको छ।
यसका लागि सरकारले इक्विटी र सहुलियतपूर्ण कर्जामार्फत लगानी गर्ने, ३० अर्ब रुपैयाँको ऊर्जा बन्ड जारी गर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट करिब १ खर्ब ४ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने प्रस्ताव गरेको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनी, एचआईडीसीएल, नेपाल टेलिकम र वाणिज्य बैंकबाट समेत स्रोत जुटाउने योजना छ।
सरकारले यसअघि मुआब्जा तथा पूर्वतयारीमा खर्च गरेको करिब ४५ अर्ब रुपैयाँलाई सेयर लगानीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ। तर, लगानी गर्ने निकाय, रकम र समयसीमाबारे अन्तिम निर्णय भइसकेको छैन। प्राधिकरण मोडलमा रूपान्तरण भएपछि प्रस्तावित लगानी संरचनामा समेत परिवर्तन हुन सक्नेछ। चालु आर्थिक वर्षमा प्रारम्भिक कामका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकासमन्त्री लम्सालले आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। सभामुख अर्यालले पनि मुआब्जा र पुनर्स्थापनाका विषयमा प्रभावित नागरिकमाथि अन्याय हुन नदिने बताएका छन्।
आयोजनाको निर्माण अवधि आठ वर्ष प्रस्ताव गरिएको छ। २६३ मिटर अग्लो आर्च बाँध निर्माण गरी ६३ वर्गकिलोमिटर क्षेत्रफलको जलाशय बनाइनेछ। आयोजनाबाट वार्षिक ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ। यसले विशेषगरी हिउँदयामको विद्युत् माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
आयोजनाका लागि हालसम्म मुआब्जा तथा पूर्वतयारीमा ५० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। डुबान क्षेत्रमा पर्ने करिब ४९ हजार रोपनी जग्गाको मुआब्जा वितरण गरिएको छ। आयोजनाबाट ८ हजार ११७ घरधुरी प्रभावित हुने र ३ हजार ५६० घरधुरी पूर्ण रूपमा विस्थापित हुनेछन्।
तर, प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले अझै जग्गा, गोठ, बालीनाली तथा अन्य सम्पत्तिको मुआब्जा नपाएको गुनासो गरेका छन्। उनीहरूले पुनर्वास, सडक, खानेपानी र रोजगारीको सुनिश्चितता गर्न तथा मुख्य बाँध निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन्।
भवन र पुलको शिलान्यासले आयोजनाले भौतिक रूपमा गति लिने संकेत गरे पनि साढे ४ खर्बभन्दा बढीको लगानी सुनिश्चितता, कानुनी संरचना र प्रभावितको पुनर्स्थापनाको विषय टुङ्गो नलागेसम्म आयोजना निर्माण निश्चित भइसकेको मान्न सकिने अवस्था छैन।