KATHMANDU, Nepal — वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, श्रमिकका समस्या, राज्यका निकायप्रतिको अविश्वास र विभिन्न व्यक्तिसँग जोडिएका विवादले यो असन्तुष्टिको वातावरणलाई थप जटिल बनाइरहेका छन्।
नेपाल पत्रकार महासंघले मंसिर १ गते नै आन्दोलन घोषणा गरेको थियो। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याइएको घटनामा कारबाही नभएको र पत्रकारलाई सञ्चारगृहबाट जबर्जस्ती निष्कासन गरिएको महासंघको आरोप छ।
मंसिर १० मा महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै मंसिर १३ देखि २० सम्म राजनीतिक दलका कार्यालयमा धर्ना र देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो। सत्तारूढ रास्वपादेखि कांग्रेस, एमाले र अन्य दलका कार्यालयसम्म धर्ना दिने कार्यक्रम राखिनु आफैँमा राजनीतिक रूपमा अर्थपूर्ण छ।
यस आन्दोलनको अर्को महत्वपूर्ण पक्ष आर्थिक हो। पत्रकारको रोजगारी असुरक्षित हुनु, सञ्चारगृहले श्रम अधिकार पालना नगर्नु, लोककल्याणकारी विज्ञापनको रकममा विवाद हुनु र सञ्चारमाध्यमको आर्थिक संकटले पत्रकारिताको व्यावसायिक भविष्यलाई प्रभावित गरिरहेको छ।
अर्थात् यो केवल अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन होइन, पत्रकारको रोजीरोटी र सञ्चार उद्योगको आर्थिक संरचनासँग पनि जोडिएको विषय हो।
मंसिर १३ गते शिक्षक महासंघले सातबुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले सरकार शिक्षक तथा कर्मचारीका समस्याप्रति संवेदनशील नभएको आरोप लगाएको छ।
शिक्षकको आन्दोलनको आर्थिक प्रभाव पत्रकारको आन्दोलनभन्दा फरक हुन्छ। विद्यालय बन्द हुने अवस्था आएमा प्रत्यक्ष रूपमा विद्यार्थीको पढाइ प्रभावित हुन्छ। अभिभावकको अतिरिक्त खर्च बढ्छ, निजी ट्युसन र वैकल्पिक शिक्षाको आवश्यकता बढ्न सक्छ र शैक्षिक पात्रो प्रभावित हुन्छ।
शिक्षकको सेवासुविधा, वृत्ति विकास र विद्यालय शिक्षाको संस्थागत व्यवस्थापनमा देखिने समस्या समाधान नगरी आन्दोलन रोक्ने प्रयासले दीर्घकालीन समाधान दिँदैन।
राष्ट्रिय किसान सञ्जालले मंसिर ११ गते सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ। ती मागमा उत्पादन लागत घटाउने, किसानलाई उचित मूल्य दिने, बाढीपीडित किसानलाई राहत, मल, बीउ, सिँचाइ र विद्युत् सुविधा उपलब्ध गराउने, निर्व्याजी कर्जा तथा उत्पादन अनुदान दिने विषय छन्।
त्यस्तै, दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउनुपर्ने, दूध बिक्रीको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने र उखुको समर्थन मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ निर्धारण गर्नुपर्ने माग पनि उठाइएको छ।
नेपालमा कृषि उत्पादन बढाउने भाषण धेरै हुन्छन्। तर उत्पादन लागत, बजारको सुनिश्चितता, भुक्तानी र बाली क्षतिको बीमा जस्ता विषयमा किसानले निरन्तर संघर्ष गर्नुपर्ने अवस्था छ। किसानको असन्तुष्टि सडकमा पुग्नु भनेको खाद्य आपूर्ति, ग्रामीण रोजगारी र कृषि लगानीको भविष्यसँग जोडिएको विषय हो।
राजनीतिक दलको सडक तयारी : जनजीविकाको मुद्दा कि राजनीतिक दबाब?
Source report ↗ · Information only; not advice to buy or sell.